अजेन्द्र वाईबा तामाङ
असोज १७, फिदिम । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फिदिम शाखाले एजेन्सी म्यानेजरहरूलाई सम्मान गर्दै अभिकर्ताहरूका लागि तालिम कार्यक्रम सञ्चालन गरेको छ। शाखाको आयोजनामा शुक्रबार फिदिम बजारस्थित होटल अजिमामा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
शाखा प्रबन्धक दिनेश श्रेष्ठको अध्यक्षता तथा प्रदेश प्रमुख रितु प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एजेन्सी म्यानेजरहरूलाई सम्मान गर्नुका साथै अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता तथा बीमा व्यवसायमा सफलताका लागि आवश्यक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमले अभिकर्ताहरूमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास थप्दै बीमा व्यवसायमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बीमा व्यवसायमा देखिएका अवसर, चुनौती तथा ग्राहकसँगको व्यावसायिक सम्बन्धलगायतका विषयमा समेत जानकारी दिइएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, सम्मानित एजेन्सी म्यानेजर तथा सहभागी अभिकर्ताहरूप्रति एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फिदिम शाखाले आभार तथा धन्यवाद व्यक्त गरेको छ।


