चालु आ.व.मा ९ जना मात्र कुष्ठरोगी भेटिए

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा पछिल्लो पाँच वर्षको अवधिमा कुष्ठरोगीको संख्यामा उल्लेख्य कमी आएको छ ।
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार समय समयमा सचेतनामूलक कार्यक्रम तथा स्क्रिनिङ गर्दा रोग लुकाएर बस्ने मानिसको संख्या र उपचार सेवा विस्तार भएसँगै कुष्ठरोगीको संख्यामा कमी आएको हो ।
बिर्तामोड नगरपालिकाभित्र चालु आर्थिक वर्ष ०८२–८३ मा पीबी (अल्पजीवाणु) संक्रमित २ र एमबी (बहुजीवाणु) संक्रमित ७ गरी ९ जनामा कुष्ठरोग देखिएको छ । जुन पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा कम हो ।
स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आव ०७८/७९ मा १५ जना, आव ०७९/८० मा १९, आव ८०/८१ मा १८ जना र आव ०८१/८२ मा १५ जनामा कुष्ठरोग भेटिएको थियो ।
स्वास्थ्य शाखा अन्तर्गत कुष्ठरोग फोकल पर्सन अजय पौडेलले समुदायस्तरमा सञ्चालन गरिएका सचेतना कार्यक्रम, घरदैलो स्वास्थ्य सेवा तथा निःशुल्क औषधि उपलब्धताले रोग नियन्त्रणमा सकारात्मक प्रभाव पारेको बताए ।

‘कुष्ठरोग न्यूनिकरणका लागि बिर्तामोड नगरपालिकाले प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कममा रोक्ने लक्ष्य लिएको छ’ पौडेलले अगाडी भने, ‘बिर्तामोडको हाल कुल जनसंख्या १ लाख २४ हजार छ । हाम्रो लक्ष्यअनुसार सफल भएका छौं । तर, साना बालबालिकामा पनि संक्रमण भेटिएको हुँदा ढुक्क हुने अवस्था भने छैन ।’
पौडेलका अनुसार जेठ मसान्तसम्ममा ९६ जना कुष्ठरोगीले नगर स्वास्थ्य शाखाबाट सेवा लिएका छन् भने हाल १२ जनाले औषधी सेवन गरिरहेका छन् ।
औषधी सेवन गर्नेहरुमा ८ पुरुष, ४ महिला र २ बालबालिका रहेको शाखाले जनाएको छ । कुष्ठरोगबाट १, ५, ९ र १० वडा बढी जोखिमयुक्त रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै बिर्तामोड नगरपालिका हात्तीपाइले रोगको जोखिममुक्त भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
दृश्य अनलाईनका प्रतिनिधिसँगको एक भेटमा शाखा प्रमुख राजीव विष्टले जनसमुदायबाट नमूना सर्भे गर्दा ०.२५ भन्दा कम परजीविको मात्र भेटिएको हुँदा जोखिममुक्त रहेको बताएका हुन् ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले नियमित रुपमा सर्भे गर्ने गरेको र उक्त सर्भेबाट बिर्तामोड नगरपालिका हाललाई जोखिममुक्त रहेको छ ।
उनले बिर्तामोडमा औषधी सेवन कार्यक्रम सञ्चालन गर्नु नपर्ने भएको पनि सुनाए । शाखा प्रमुख विष्टले बिर्तामोड नगर हात्तीपाइले जोखिममुक्त भए पनि आमनागरिक आफै सचेत हुनुपर्ने बताएका छन् ।
उनले हात्तीपाइले रोगबाट बच्न विशेषतः लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा जोड दिए । उनले रोगबाट बच्ने उपायबारे जानकारी दिँदै घर वरिपरि खाल्डाखुल्डीमा पानी जम्न नदिने, झुल लगाएर सुत्ने र बेलुकापख हिंड्दा पुरा बाहुला भएको कपडा लगाउने गर्दा पनि हात्तीपाईले रोगबाट बच्न सकिने बताए ।
शाखा प्रमुख विष्टले हात्तीपाइले रोग लागेको शंका लागेमा, पुरुषहरुको हकमा अण्डकोष सुन्निएमा वा कुनै शंका भएमा प्रत्येक वडामा स्वास्थ्य कार्यालय भएको हुँदा त्यहीबाट निःशुल्क उपचार सेवा लिन सकिने बताए ।


