सप्तकोशी नदीमा तैरिरहेको अवस्थामा ३ सय किलो बढी गाँजा बरामद




धरान : सुनसरीको कोशी गाउँपालिका–७ केराबारी र भाण्टाबारीबीच रहेको सप्तकोशी नदीको बाँध किनारबाट प्रहरीले ३ सय १२ किलो गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पानीमा तैरिरहेको अवस्थामा कालो प्लास्टिकले बेरिएका आठ वटा पोका फेला पारेको थियो।
पोका खोलेर जाँच गर्दा उक्त परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उक्त गाँजा कसले ल्याएको वा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।