इलाम । इलामको रोङ गाउँपालिका–४, किटेनीमा श्रम संस्कृति पार्टीको कार्यालय भवन उद्घाटनसँगै ‘बृहत् हातेमालो’ तथा पार्टी विस्तार कार्यक्रम सम्पन्न भएको छ।
पार्टीका वरिष्ठ नेता सुदन किरातीको प्रमुख आतिथ्यमा मंग्लवार आयोजित भेलामा उल्लेख्य रूपमा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीयस्तरमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
पार्टीका नीति, विचार तथा कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउने विषयमा सहभागीहरूले जोड दिएका थिए। उनीहरूले स्थानीय समस्या, जनजीविका र विकासका सवालमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
आयोजकका अनुसार ‘हातेमालो’ अभियानमार्फत नयाँ कार्यकर्तालाई पार्टीसँग जोड्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। भेलामा सहभागी कार्यकर्ताले संगठन सुदृढीकरण तथा पार्टी विस्तारमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


