अजेन्द्र वाईबा तामाङ
असोज २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिममा करिब दुई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा आउन नसक्दा मुख्य राजमार्गमै सवारीसाधन पार्किङ हुने गरेको छ। फिदिम नगरपालिका -२ मा निर्माण गरिएको बसपार्क बजार क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहे पनि यातायात व्यवसायीले बसपार्क प्रयोग नगर्दा बजारका मुख्य सडक तथा राजमार्गको दायाँबायाँ सवारीसाधन जथाभावी पार्किङ हुने गरेको हो।
बसपार्कको भौतिक संरचना निर्माण सम्पन्न भइसकेको लामो समय भए पनि सञ्चालनमा नआउँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन मुख्य सडकमै रोक्ने गरिएको छ। यसले फिदिम बजारको यातायात व्यवस्थापन थप अस्तव्यस्त बन्दै गएको छ। फिदिम बजारमा यातायात व्यवसायीले सवारीसाधन बजारका विभिन्न मुख्य सडक, ग्यारेज तथा आफन्तका घर अगाडि राख्ने गरेका छन्। कतिपय सवारीसाधन सडक छेउमै पार्किङ गरिँदा पैदलयात्री तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या हुने गरेको स्थानीयको गुनासो छ। बसपार्क सञ्चालनका लागि स्थानीय नागरिकले करिब साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। बसपार्क निर्माण भएपछि बजारको यातायात व्यवस्थापन सहज हुने र आफ्नो क्षेत्रको विकास हुने अपेक्षासहित जग्गा उपलब्ध गराएका स्थानीय भने अहिले निराश बनेका छन्।
बसपार्कको दुई पटक उद्घाटनसमेत भइसकेको छ। तर, उद्घाटन भएको लामो समय बितिसक्दा पनि नियमित रूपमा सवारीसाधन पार्किङ हुन सकेको छैन। बजार क्षेत्रमा सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गए पनि बसपार्क सञ्चालनका लागि प्रभावकारी पहल नभएको स्थानीयको भनाइ छ।
बसपार्क सञ्चालनमा आउने अपेक्षामा आसपासका क्षेत्रमा ठूला घर तथा होटलसमेत निर्माण भएका छन्। तर, बसपार्क सञ्चालन नहुँदा निर्माण गरिएका पूर्वाधार र आसपासको व्यावसायिक गतिविधिले अपेक्षित गति लिन सकेको छैन। बसपार्कमा टिकट काउन्टरसहित आवश्यक आधारभूत संरचना निर्माण गरिएको छ। तर, प्रयोगमा नआउँदा ती संरचना जीर्ण बन्ने जोखिम बढेको छ। कहिले यातायात व्यवसायीको असहयोग त कहिले अन्य कारण देखाउँदै बसपार्क सञ्चालनमा ढिलाइ भइरहेको स्थानीयको आरोप छ।
यता जनप्रतिनिधिले भने बसपार्क सञ्चालनका लागि पटक–पटक यातायात व्यवसायी तथा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताएका छन्। स्थानीय सरकारको पहलमा बसपार्क सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको उनीहरूको भनाइ छ। बसपार्कको सुरक्षाका लागि अस्थायी प्रहरी बिटसमेत स्थापना गरिएको छ। तर, यातायात व्यवसायी र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा करोडौँ रुपैयाँको लगानीबाट निर्माण भएको संरचना प्रयोगविहीन बनेको छ।
स्थानीयले बजारको मुख्य सडकमा भइरहेको अव्यवस्थित पार्किङ हटाई निर्माण भइसकेको बसपार्क तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले नागरिकले निःशुल्क उपलब्ध गराएको जग्गा र राज्यको करोडौँ लगानीबाट बनेको संरचनालाई प्रयोगविहीन हुन नदिन स्थानीय सरकारले ठोस निर्णय लिनुपर्ने बताएका छन्।


