अजेन्द्र वाईबा तामाङ
असोज २२, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ स्थित नेपालटार र कृष्ण मन्दिरका दुर्घटना जोखिमयुक्त घुम्तीमा सडक सुरक्षा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ। सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचथरले बुधबार ती स्थानमा सचेतनामूलक बोर्ड राखेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख पुरन बर्देवाका अनुसार ती स्थानमा सवारी दुर्घटनाको जोखिम बढी रहेकाले चालक तथा अन्य सडक प्रयोगकर्तालाई सावधानी अपनाउन सचेत गराउने उद्देश्यले बोर्ड राखिएको हो। विशेषगरी जोखिमयुक्त घुम्तीमा तीव्र गतिका कारण दुर्घटनाको सम्भावना बढी हुने भएकाले चालकलाई गति नियन्त्रण गर्न, घुम्तीमा विशेष सावधानी अपनाउन तथा ट्राफिक नियम पालना गर्न सचेत गराउने सन्देश बोर्डमार्फत प्रवाह गरिएको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारसँगै चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तामा सडक सुरक्षासम्बन्धी सचेतना आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।
प्रहरीले जोखिमयुक्त अन्य स्थानको समेत पहिचान गरी आगामी दिनमा सडक सुरक्षा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, ट्राफिक प्रहरीले सवारी चालकलाई तीव्र गतिमा सवारी नचलाउन, घुम्तीमा ओभरटेक नगर्न तथा सडकको अवस्था र ट्राफिक नियमअनुसार सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।


