अर्जुनधारामा श्रम संस्कृति पार्टीको कार्यालय उद्घाटन, विशेष प्रशिक्षण सम्पन्न



अर्जुनधारा । झापाको अर्जुनधारामा श्रम संस्कृति पार्टी अर्जुनधारा नगर समितिको कार्यालय उद्घाटनसँगै विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नगर समितिको आयोजनामा बुधबार सभाहलमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा श्रमदाता सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि किरातीले संगठन विस्तारसँगै जनताका विषयलाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले पार्टी संगठनलाई बलियो बनाउन स्थानीय तहमा कार्यकर्ताको सक्रिय भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा श्रम संस्कृति पार्टी अर्जुनधारा नगर समितिको कार्यालय भवनको औपचारिक उद्घाटन गरिएको थियो। कार्यालय उद्घाटनसँगै संगठन विस्तार, पार्टीका आगामी गतिविधि तथा स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष सिवाकोटीले पार्टीको संगठनलाई स्थानीय तहसम्म थप विस्तार गर्दै जनतासँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो। पार्टीका गतिविधिलाई प्रभावकारी बनाउन कार्यकर्ताबीच एकता, सक्रियता र आपसी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव बब्रिम शेर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। केन्द्रीय सदस्य हिमाल कन्दङ्वा, केन्द्रीय सदस्य लक्ष्मी राई, श्रम संस्कृति पार्टी झापाका जिल्ला अध्यक्ष केशव भण्डारीलगायत विभिन्न गाउँ कार्यसमितिका अध्यक्ष तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।