विराटनगर। किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन युवराज राईको अध्यक्षतामा १०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै मंगलबार भव्यताका साथ सम्पन्न भएको छ। असोज २३ गते विराटनगरस्थित राष्ट्रिय सभागृहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र होटल मनास्लु इनमा पाँच दिनसम्म चलेको थियो।

सुरुमा विभिन्न पदाधिकारी पदहरूमा धेरै आकांक्षीहरू देखिएपछि सर्वसहमति जुट्न नसक्दा बन्दसत्र केही लम्बिन पुगेको थियो। स्थिति निर्वाचन प्रक्रियासम्म पुगिसकेको भए पनि निवर्तमान अध्यक्ष जीवन हाताचो राईसहित अध्यक्षका ६ जना प्रत्यासीहरूले पालैपालो उम्मेदवारी फिर्ता लिँदै युवराज राईलाई समर्थन गरेपछि अध्यक्ष पद सर्वसम्मत टुंगिएको हो। अन्य पदाधिकारीमा पनि निर्वाचन मण्डल, संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्षहरू सम्मिलित सहजीकरण समितिको निरन्तर पहल र लामो रस्साकस्सीपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सफलता मिलेको हो।

महाधिवेशनबाट नवगठित समितिको सह-अध्यक्षमा जनक राई र अर्जुन जर्मनेली राई निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा भीमराज राई, कृष्णकुमार राई, मातृका राई, नगेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई चयन हुनुभएको छ भने महासचिवको जिम्मेवारी मञ्जु सोताङ राईले पाउनुभएको छ। त्यस्तै उपमहासचिवमा पर्शु बिराट राई, राजु एन राई, मीनाकुमारी राई, भोगीराज राई र प्रमिला राई चयन हुनुभएको छ। सचिव पदमा छिला राई, मनोज बान्तावा राई, मानभगत चाम्लिङ राई, सीताकुमारी राई, प्रकाश दुमी राई, मुकुन्द राई र संजय कुमार राई चयन हुनुभएको छ भने कोषाध्यक्षमा डेकिन्द्र कुमार राई तथा सहकोषाध्यक्षमा रत्नदेवी (उषा) राई, चिराहाङ राई र मणिकुमार राई सर्वसम्मत हुनुभएको छ। नयाँ केन्द्रीय कार्यसमितिको सदस्यहरूमा जीतकुमार राई, तारा राई, बिर्सिका राई, खीलराज राई, संजय सन्तोषी राई, ज्ञान किराती, रामचन्द्र राई, अनिता राई, होमबहादुर राई, चन्द्रकुमार राई, जितेन्द्रकुमार राई, रोहितकुमार राई, विष्णुदेवास राई, थगेन्द्र राई, सोभीत राई, गंगा राई, टिकाराम राई, रामध्वज राई, अशोक राई, सीताकुमारी राई, मोहन राई, अमरबहादुर राई, सुदीप राई, गणेश साम्पाङ राई, मनोजकुमार राई, भूपेन्द्र चाम्लिङ राई, शान्तादेवी राई, बाबुराम राई, युगसन किरात, भविशंकर राई (जुम्लेखा) र सुरेश राई (बुङ्लावा) लगायत चयन हुनुभएको छ।

यसैबीच नवनिर्वाचित कार्यसमितिले बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनद्वारा पारित १९ बुँदे ‘विराटनगर घोषणा-पत्र’ सार्वजनिक गरेको छ। घोषणा-पत्रमा प्रदेश नं. १ को नाम ‘कोशी’ संशोधन गरी ‘किरात प्रदेश’ पुनः नामाकरण गर्न जोडदार माग गरिएको छ। त्यसैगरी प्रदेशमा वान्तावा र चाम्लिङसहित १३ भाषालाई कामकाजको भाषा र किरात लिपि प्रयोग गर्ने विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै स्थानीय तहहरूमा समेत मातृभाषालाई सरकारी कामकाजको भाषा र लिपि प्रयोगमा ल्याउन आग्रह गरिएको छ। धरानको विजयपुर दरबारबाट किरातीहरूको मुन्धुमी सामग्री वाबु (चिण्डो) माथि आक्रमण गर्नेलाइ कडा कारबाही गर्न र पूर्ववत् स्थानमै राख्न जोडदार माग गरिएको । त्यस्तै विद्यालयहरूमा मातृभाषाका शिक्षक दरबन्दी सिर्जना गर्न पनि ध्यानाकर्षण गराइएको छ।

घोषणा-पत्रमा संविधानतः धर्म निरपेक्षता र अन्तर्राष्ट्रिय अभिसन्धि ILO-169 को पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ। साथै चौदण्डी, केपिलास, विजयपुर, हतुवा लगायतका ऐतिहासिक गढीहरूको संरक्षण गर्न, भोजपुरको हतुवागढी र खोटाङको मखुवागढीबाट सेना तथा सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाउन, र जननायक सहिद रामप्रसाद राईलाई अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ। त्यसैगरी खवालुङको दीर्घकालीन संरक्षण, मुकुमलुममा केवलकार खारेजी, तिलुङ र लुङ्खिम जस्ता संकटपन्न भाषालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्ने तथा धार्मिक-सांस्कृतिक कार्य गर्ने धामी/नक्छोङहरूको वृत्तिविकासका लागि अक्षयकोष वृद्धि गर्नेसहितका महत्त्वपूर्ण प्रस्तावहरू घोषणा-पत्रमा समेटिएका छन्।




