नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर ।



विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कैद तथा जरिवाना सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार खड्कालाई एक वर्ष तीन महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय रूपैयाँ बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ भने खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएकाले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको छ।