झापा । नेटवर्किङ व्यवसायमार्फत स्वास्थ्य जाँच तथा औषधी बिक्री गर्दै आएको आरोपमा बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेर ४१ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा बुधबार दिउँसो करिब ३ बजे गरिएको छापामा २२ महिला र १९ पुरुष पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेल र अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बूसमेत छन्।
प्रहरीले कार्यालयबाट विभिन्न औषधी, स्वास्थ्य जाँच गर्ने मेसिन, कागजात तथा केही नगद बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ‘होलबडी चेकअप’का नाममा प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने, विभिन्न रोग देखाएर औषधी बिक्री गर्ने तथा सबै रोग निको पार्ने दाबी गर्दै सर्वसाधारणलाई प्रभावित पार्ने गरेको खुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


