अजेन्द्र वाईबा तामाङ
भदौ १९, फिदिम, पाँचथर।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले उदाहरणीय मानवीय सहयोग गरेका छन्। विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम जुटाएर ५१ हजार ८४० रुपैयाँ सहयोग गरेका हुन्।
विद्यालयमा क्रियाशील जुनियर/युवा रेडक्रस सर्कल, बाल क्लब, स्काउट तथा आदर्श विद्यार्थी समूहको अगुवाइमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीबाट संकलित रकम नेपाल बैंक, फिदिम शाखामा एकमुष्ट जम्मा गरिएको हो।
विद्यार्थीहरूले कसैले आफ्नो खाजा खर्चबाट बचाएको रकम त कसैले व्यक्तिगत बचतबाट सहयोग गरेका थिए। साना–साना रकम संकलन हुँदै ठूलो सहयोगमा परिणत भएपछि विद्यार्थीहरूमा सामाजिक सेवा तथा मानवीय सहयोगप्रतिको उत्साहसमेत बढेको विद्यालयले जनाएको छ।
कक्षागत रूपमा यसरी जुट्यो सहयोग
कक्षा १ का विद्यार्थीबाट ५१० रुपैयाँ, कक्षा २ बाट १६० रुपैयाँ, कक्षा ३ बाट ४६० रुपैयाँ र कक्षा ४ बाट १ हजार ६२५ रुपैयाँ संकलन भएको थियो। त्यस्तै, कक्षा ५ को ‘ए’ सेक्सनबाट ८१० र ‘बी’ सेक्सनबाट ७६० रुपैयाँ संकलन भएको थियो। कक्षा ६ को ‘ए’ बाट ५०, ‘बी’ बाट ८०० र ‘सी’ बाट ६८५ रुपैयाँ संकलन गरिएको थियो। कक्षा ७ को ‘ए’ सेक्सनबाट १ हजार २६५, ‘बी’ बाट १ हजार ५१५ र ‘सी’ बाट ३ हजार ५८० रुपैयाँ संकलन भएको छ। कक्षा ८ को ‘ए’ बाट ८७०, ‘बी’ बाट १ हजार ८२० र ‘सी’ बाट १ हजार ७५५ रुपैयाँ सहयोग जुटेको थियो।
त्यसैगरी, कक्षा ९ को ‘ए’ सेक्सनबाट २ हजार ३०५, ‘बी’ बाट १ हजार २६५, ‘सी’ बाट १ हजार ८५५ र ‘डी’ बाट ३ हजार ५४५ रुपैयाँ संकलन भएको थियो। कक्षा १० को ‘ए’ बाट २ हजार २८०, ‘बी’ बाट २ हजार ७२५, ‘सी’ बाट १ हजार ३५० र ‘डी’ बाट २ हजार ७६५ रुपैयाँ सहयोग गरिएको विद्यालयले जनाएको छ। कक्षा ११ र १२ अन्तर्गत विज्ञान तथा सिभिल इन्जिनियरिङतर्फबाट ५ हजार ५५० रुपैयाँ तथा कानुन, व्यवस्थापन, शिक्षा र मानविकी तर्फबाट ११ हजार ३२५ रुपैयाँ संकलन भएको थियो।
यसरी विभिन्न कक्षा तथा संकायबाट संकलित रकम गरी कुल ५१ हजार ८४० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । विद्यार्थीहरूले गरेको सहयोग रकमका हिसाबले सानो देखिए पनि त्यसपछाडिको मानवीय भावना, सामाजिक उत्तरदायित्व र विपत्तिमा परेका नागरिकप्रतिको संवेदना भने निकै ठूलो छ।
‘साना हात, विशाल मन, ठूलो सहायता’ भन्ने भावनालाई आत्मसात् गर्दै फिदिम माविका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितप्रति आफ्नो साथ र ऐक्यबद्धता प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूको यो पहलले विपद्का समयमा सहयोग गर्न ठूलो रकम नै आवश्यक नपर्ने, सानो–सानो सहयोग र ठूलो मन भए पनि पीडितको साथमा उभिन सकिने सन्देश दिएको छ।


