बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा बिर्तामोडमा श्रद्धाञ्जली



बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बिर्तामोडमा श्रद्धाञ्जली तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोड परिवर्तनशील युवा क्लब (BIYC) को आयोजनामा बिर्तामोडस्थित मुक्तिचोकमा आयोजित कार्यक्रममा विपदमा ज्यान गुमाएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरिएको थियो। स्थानीयवासी, क्लबका सदस्य, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूले मैनबत्ती बालेर विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका प्रतिनिधि राजन कार्कीसहित प्रहरी टोलीको उपस्थिति रहेको थियो। विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानीयवासीहरूको समेत सहभागिता थियो।

क्लबका अध्यक्ष रोजन तिम्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम क्लबका सचिव मिलन गौतमले सञ्चालन गरेका थिए।

रसुवाको भोटेकोशी नदीसहित नुवाकोट, धादिङ, गोरखा लगायतका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ। विपद्पछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ भने प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा राहत उपलब्ध गराउने कार्यसमेत जारी रहेको जनाइएको छ।

श्रद्धाञ्जली कार्यक्रममार्फत बिर्तामोड परिवर्तनशील युवा क्लबले विपद्को यस दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ।

कार्यक्रमको अन्त्यमा बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धार होस् भन्ने कामना गरिएको थियो।