किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गणेश राई



बिर्तामोड । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेशबहादुर राई निर्वाचित भएका छन्।

शनिबारदेखि सुरु भएको अधिवेशनको बन्दसत्रमा लामो छलफल र प्रयासपछि गणेशबहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चीजा राई र सचिवमा पुनः गौरीमान राई सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी सह–सचिवमा सन्देश राई, सुनिल राई र धनकुमार राई तथा कोषाध्यक्षमा सन्तोष राई निर्वाचित भएका छन्। सदस्यहरूमा अबिरल राई, मानबहादुर बान्तवा राई, बिमला बान्तवा राई, अर्जुनबहादुर राई, बेनु राई, बदीराज राई, मिरन राई र अपर्ण राई निर्वाचित भएका छन्। नवनिर्वाचित समितिको विवरण सचिव गौरीमान राईले जानकारी दिएका हुन्।

किरात राई यायोक्खाका केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा गठित निर्वाचन समितिले भदौ २० र २१ गते सम्पन्न अधिवेशनमा सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका सदस्यहरूमा केन्द्रीय सचिव नगेश चन्द्र राई, कोशी प्रदेश अध्यक्ष पारसमणि राई, प्रदेश सचिव राम माण्डुपा राई तथा जिल्ला सल्लाहकारहरू दिपेनवाला राई, एलडी राई, दिपिन राई, निरबहादुर राई र समर थुलुङ राई रहेका थिए। निर्वाचन मण्डलका महिला सदस्य अनिता राई र सलिना राईको समेत सहभागिता रहेको थियो।

किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जीवन हाताचो राईले गरेका थिए।