धरान ः धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।
महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने साथै खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डी–१९ क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले बताए ।

धरानलाई खेलकुदमा विशेषगरी फुटबलको उर्वरभूमि पनि मानिन्छ । खेलकुदका माध्यमबाट कोशी प्रदेशलाई विकास गर्ने स्थानीय तथा प्रदेश सरकारको लक्ष्य, खेलकुद पूर्वाधार, हावापानी, स्वास्थ्य तथा खेलकुदप्रेमी धराने जनताको कारण धरानले खेलकुद क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको आयोजकको भनाई छ ।
प्रतियोगिताको विजेताले रु.पाँच लाख र उपविजेताले रु.तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने राईले जानकारी दिए ।

प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा वुमन्स फुटबल क्लब झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब गरी आठ टोलीको सहभागिता रहने छ ।
जसमा राष्ट्रिय स्तरका महिला खेलाडी प्रिति राई,एन्जिला तुम्बापो,अनिता बस्नेत,रेखा पौडेललगायत खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।


