घोराही , दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरूले मनग्य आम्दानी गर्ने गरेका छन् ।
हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउछन् । हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आउनुभएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताए ।
हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भने “हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।” उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा रु १५–२० हजार सजिलै कमाउन सकिने उनले बताए ।
हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताए । घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन ।” उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएको छ । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा रु २० हजारसम्म कमाउने गरेको बताए ।
घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताए । उनले भने “घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन । सामग्री उत्पादनमा मात्रै लागेका महिलाले महिनामा रु ३० हजारसम्म कमाउने गरेका छन् । उनका अनुसार काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको बताए ।