झापा । नेपाली कम्युनिस्ट पार्टी झापाको बुद्धशान्ति गाउँपालिका–१ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टंकप्रसाद गड्तौलाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कमिटीको उपाध्यक्षमा नेत्रप्रसाद बास्तोला, सचिवमा शिवप्रसाद गिरि, सह–सचिवमा वासुदेव दाहाल र बद्री काफ्ले तथा कोषाध्यक्षमा विष्णुमाया बराल चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा मंगेश लिम्बू, चूडामणि नेपाल, कृष्ण पुरी, डिल्लीराम विश्वकर्मा, लोचन ढकाल, हरी भट्टराई, कृष्ण (दावा) विश्वकर्मा, डिल्लीराम कार्की, रुद्र पौडेल, राधिका दियाली, गीता सापकोटा, भीम कोइराला, पुष्पा काफ्ले, मित्रलाल गौतम, निकेश कार्की, डिल्ली भण्डारी र सुदीप खड्कालगायत रहनुभएको छ।
होक्सेस्थित ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा सम्पन्न अधिवेशन टंकप्रसाद गड्तौलाको सभापतित्व तथा शिवप्रसाद गिरिको सञ्चालनमा भएको हो। कार्यक्रममा पूर्व प्रदेश कृषि मन्त्री तथा पार्टी केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै बिशिष्ट अतिथि केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज कमरेड पुष्प पोखरेलको र विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य बोधराज दाहाल ‘असिम’, झापा जिल्ला संयोजक एवं केन्द्रीय सदस्य खड्ग तिम्सिना ‘पवन’, र गाउँ कमिटीका पूर्व अध्यक्ष प्रेम नेम्बाङलगायत नेताहरूको उपस्थिति थियो।
अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई थप सुदृढ बनाउँदै जनतासँग जोडिएर जनसेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। कार्यक्रममा स्थानीय पार्टी नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसपटकको वडा अधिवेशन परम्परागत शैलीभन्दा केही फरक ढंगले सञ्चालन गरिएको थियो। कार्यक्रममा औपचारिक मञ्च निर्माण गरिएको थिएन भने अतिथिहरू पनि छुट्टै विशेष स्थानमा नभई आम कार्यकर्ता तथा सहभागीहरूसँगै बसेर कार्यक्रमको हिस्सा बनेका थिए। त्यसैगरी अतिथिहरूलाई खादा अर्पण गर्ने औपचारिकता समेत राखिएको थिएन। लामो र झन्झटिलो औपचारिक कार्यक्रमभन्दा छोटो, सरल र प्रभावकारी ढंगले अधिवेशन सञ्चालन गरिएको आयोजकले जनाएको छ।
अतिथि र कार्यकर्ताबीचको दूरी घटाउने तथा संगठनमा सबैलाई समान सहभागिताको अनुभूति गराउने उद्देश्यसहित अपनाइएको यो शैलीले अधिवेशनमा सहभागीहरूबीच समेत चर्चा पाएको थियो। परम्परागत राजनीतिक कार्यक्रमको शैलीभन्दा फरक देखिएको अधिवेशनले ‘नेतृत्व र कार्यकर्ताबीचको दूरीभन्दा संगठन र जनतासँगको सम्बन्धलाई प्राथमिकता’ दिने सन्देश दिन खोजेको देखिन्थ्यो।


