देवानगन्ज गोलि काण्ड : घाइते यादवको शरीरबाट निकालियो गोली



धरान : सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरमा लागेको गोली निकालिएको छ ।

 देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको आज आइतबार शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको थियो । उनी हिजो साझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते भएका थिए ।

घटनापछि प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवलाई पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताए ।

 युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।