धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ ।

आज शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठ्माण्डौलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठ्माण्डौका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देबेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडीहरु युमी, फोफोना,पेमा तामाङ् र देवेन्द्र तामाङ्ले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पीतर,जेन जिदे र मदन स्याङतनले गोल गरेका थिए ।
आजको खेलको ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देबेन्द्र तामाङ घोषित हुनुभयो । उहाँलाई नगद रु.पाँच पुरस्कार प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।
उपाधीका लागि भोली पथरी ११ फुटबल क्लब मोरङ् र आरटी एफसी मलेसियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु.चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु.दुई लाखसहित ट्रफी हात पार्नेछन् ।



