सुनसरी ः सुनसरीको दुहबी–६ स्थित राधाकृष्ण मन्दिरमा आगामी शनिबार श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव आयोजना हुने भएको छ ।
महोत्सवमा सुनसरी, मोरङ तथा आसपासका विभिन्न क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी हुने भएकाले तयारी तीव्र पारिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार रौनियारले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
महोत्सवमा करिब ५० हजार बढी श्रद्धालु भक्तजनहरुको सहभागी हुने अनुमान गरिएको छ भने रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ड्रोन क्यामेराबाट निगरानी गरिने उनले बताए ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको उनले बताए । महोत्सवमा सहभागी हुने श्रद्धालु भक्तजनको सहज आवतजावत, सुरक्षा तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
महोत्सवका अवसरमा श्रीकृष्ण जन्माष्टमी बालगोपाल प्रतियोगिता,भजन कीर्तन, प्रसाद वितरण तथा मोटरसाइकल ¥यालीलगायत कार्यक्रम आयोजना गरिने मेला उपसमितिका संयोजक चन्दन बैठाले बताए ।
राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रत्येक वर्ष रथयात्रा आयोजना हुँदै आएको छ ।


