आठराईको नगर बसमा ज्येष्ठ नागरिक र विद्यार्थीलाई निःशुल्क यात्रा



अजेन्द्र वाईबा तामाङ
असोज १७, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाले सञ्चालनमा ल्याएको नगर बस सेवामा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका तथा स्कुल ड्रेस र परिचयपत्रसहित यात्रा गर्ने विद्यार्थीले निःशुल्क यात्रा गर्न पाउने भएका छन्। अपाङ्गता भएका व्यक्तिलाई भने बस भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीयवासीलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आठराईको सक्रान्ति बजारदेखि पाँचथर सदरमुकाम फिदिमसम्म नगर बस सेवा सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार नगर बसले दैनिक सेवा दिनेछ। बस बिहान ७ः३० बजे आठराईको सक्रान्ति बजारबाट फिदिमतर्फ प्रस्थान गर्नेछ भने फिदिमस्थित आहालगैरीबाट दिउँसो ३ बजे आठराईतर्फ फर्किनेछ।

सक्रान्ति बजारदेखि फिदिमसम्मको बस भाडा रु. २०० निर्धारण गरिएको छ। अध्यक्ष पाहिमका अनुसार यसअघि सोही रुटमा निजी ट्याक्सीले यात्रुसँग रु. ४०० सम्म भाडा लिने गरेका थिए। नगर बस सञ्चालनसँगै आठराई गाउँपालिका क्षेत्रका नागरिकलाई पाँचथर सदरमुकामसम्म आवतजावत गर्न सहज हुनुका साथै यातायात खर्चसमेत कम हुने अपेक्षा गरिएको छ। विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निःशुल्क तथा छुटको व्यवस्था गरिएकाले नगर बस सेवा स्थानीयवासीका लागि थप उपयोगी हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्दै नागरिकलाई सहज, सुरक्षित र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नगर बस सञ्चालनमा ल्याएको जनाएको छ।