धरान : विश्व वातावरण दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको ग्रिन क्लबको आयोजनामा सम्पन्न कार्यक्रम ग्रिन क्लबका संयोजक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष कैलाश कार्की (रतन) ले वृक्षारोपण गर्दै रोपिएका बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने बताए।
उनले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्न तथा असल संस्कार विकास गर्न वृक्षारोपणजस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप तथा सामाजिक गतिविधिमा सक्रिय बनाउन उनीहरूको सहभागितामै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
आयोजकका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यस अवसरमा विद्यालयका शिक्षक युवराज काफ्लेको जन्मदिनको सन्दर्भ पारेर तथा शिक्षक–अभिभावक संघका अध्यक्ष सानुराम गौतमले विद्यालयलाई विभिन्न प्रजातिका बिरुवा प्रदान गरेका थिए।
त्यसैगरी, राष्ट्रिय स्काउट दल, राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो।


