झापा । शिवसताक्षी नगरपालिका–धरमपुरका युवा समाजसेवी दुर्गा नेम्बाङले स्थानीय युवा खेलाडी तथा क्लबहरूलाई खेलकुद सामग्री वितरण गर्नुभएको छ।
विगत तीन वर्षदेखि निरन्तर खेलकुद सामग्री सहयोग गर्दै आउनुभएका नेम्बाङले मंगलबार धरमपुर चोकमा एक कार्यक्रमको आयोजना गरि क्लब तथा विद्यालयका टिमलाई १३ थान फुटबल र ३ थान भलिबल प्रदान गर्नुभएको हो। यसबाट फुलवारी एफसी, धरमपुर भलिबल टिम, चर्चाबारी फुटबल एफसी, श्री लक्ष्मी नारायण माध्यमिक विद्यालयका फुटबल तथा भलिबल टिम, तिनकुने फुटबल टिम र डाँडागाउँ एफसी लाभान्वित भएका छन्।
कार्यक्रममा बोल्दै नेम्बाङले विद्यालय तहका युवामा खेलप्रति तीव्र रुचि र उत्साह भए पनि आर्थिक अभावका कारण आवश्यक खेल सामग्री खरिद गर्न कठिन हुने गरेको बताउनुभयो। आफूले पनि विद्यार्थी जीवनमा यस्तै अभाव भोगेकाले युवाहरूलाई खेलकुदमा निरन्तर लाग्न प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष खेल सामग्री सहयोग गर्दै आएको उहाँले बताउनुभयो।
खेलकुदले युवामा अनुशासन, परिश्रम र सकारात्मक सोचको विकास गर्नुका साथै उनीहरूलाई सामाजिक विकृति तथा विसंगतिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने नेम्बाङको भनाइ छ। उहाँले खेलाडीहरूलाई हार–जितबाट सिक्दै नियमित अभ्यास र मेहनतलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
आफ्नो क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नु सबैको साझा उद्देश्य हुनुपर्ने बताउँदै नेम्बाङले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक जर्सी, नेट, बललगायतका सामग्री सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेम्बाङले यसअघि २०८१ सालमा शुक्रबारे बजारमा तथा २०८२ सालमा धरमपुर चोकमा समेत विभिन्न खेलकुद सामग्री वितरण गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय अगुवा, खेल संघ–संस्था तथा क्लबका प्रतिनिधि र खेलाडीहरूको उपस्थिति थियो। कार्यक्रम श्री लक्ष्मी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नीराज राईले सञ्चालन गर्नुभएको थियो।


