गायिका पवित्र गुरुङको ‘यो आँखाले’ म्युजिक भिडियो सार्वजनिक



इलाम । गायक तथा संगीतकार पवित्र गुरुङको नयाँ सांगीतिक कोसेली ‘यो आँखाले’ बोलको म्युजिक भिडियो मंगलबार औपचारिक रूपमा सार्वजनिक भएको छ।

पवित्र गुरुङकै शब्द, संगीत तथा स्वर रहेको गीतको म्युजिक भिडियोमा इलामका चर्चित कलाकार मुकेश गुरुङ र सिकुम्मा लिम्बू मुख्य भूमिकामा छन्। भिडियोमा दुवै कलाकारको जीवन्त अभिनय तथा आकर्षक अनस्क्रिन केमेस्ट्री देख्न सकिन्छ।

हिक्से राईको निर्देशनमा तयार पारिएको भिडियोको सम्पूर्ण छायांकन पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य इलामको सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा गरिएको हो। अन्तुका रमणीय चियाबारी, प्राकृतिक सौन्दर्य तथा पर्यटकीय दृश्यलाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोले मनोरञ्जनसँगै अन्तुको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अडियो तथा भिडियो दुवै पक्षलाई उत्कृष्ट बनाउन मेहनत गरिएको निर्माण टिमले जनाएको छ।

‘यो आँखाले’ म्युजिक भिडियो पवित्र गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले गीत तथा भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।