धरान ः नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको पहिलो हाफको १५औँ र २२औँ मिनेटमा आरटीएफसीका खेलाडी विलियमले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसैगरी २६औँ मिनेटमा विइचेनले थप एक गोल गरेपछि आरटीएफसीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ११औँ मिनेटमा पथरी ११ का टाम्पियो हबिजले एक गोल फर्काएका थिए भने १४औँ मिनेटमा डानियलले अर्को गोल गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
उपाधिसँगै आरटीएफसी मलेसियाले नगद रु.चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पथरी–११ फुटबल क्लबले नगद रु.दुई लाखसहित ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरी ११ का मिलन राई घोषित भई रु.२५ हजार पुरस्कार प्राप्त गर्नुभयो । गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।



