प्रतिभा प्रतियोगिताका विजेतालाई मेघा हिमालयन कलेजको छात्रवृत्ति



धरान :  धरान उपमहानगरपालिका –१२ स्थित मेघा हिमालयन कलेजले विभिन्न सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेतालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ।

कलेजको सभाहलमा आज आयोजित कार्यक्रममा मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी तथा पब्लिक चोइस अवार्ड विजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।

कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे, उपप्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट संयोजक स्मारिका दाहालले विजेताहरूलाई अबिर र खादा लगाएर सम्मान गरेका थिए।

शैक्षिक निर्देशक घिमिरेका अनुसार मिस एसईई २०८३ की विजेता श्रेष्ठ र मिस प्रोभिन्स आइडल २०८३ का विजेता थापा मगरलाई कक्षा ११ र १२ अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ। अन्य तीन जना सम्मानितलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतिभावान विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहित गर्ने उद्देश्यले सम्मानसँगै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।