धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग बैशाख २५ देखि,



धरान ः साहसिक खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित धरानमा अन्तर्राष्ट्रिय ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ आयोजना हुने भएको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

प्रतियोगिता अन्तर्गत खुला लक्ष्य नजिक अवतरण (एक्युरेसी) विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटालीलगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राई ले बताए ।

उहाँका अनुसार प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई नेपालको साहसिक पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण हुनेछ । नेपालमा विगत चार दशकदेखि प्याराग्लाइडिङ खेल विस्तार हुँदै आएको उल्लेख गर्दै उनले सन् २०१८ को एसियाली खेलकुदमा नेपालले रजत पदक जितेपछि यस खेलप्रति अन्तर्राष्ट्रिय आकर्षण बढ्दै गएको उनले बताए ।

प्रतियोगिता बिग बुद्ध उडान क्षेत्र धरान उपमहानगरपालिका –४बाट सञ्चालन हुनेछ भने अवतरण स्थल धरान–१४ स्थित खत्रीधारा तोकिएको छ । अनुकूल हावापानी, हरियाली पहाड र खुला आकाशका कारण धरान प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य बन्दै गएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको रु.४० लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने जनाइएको छ। साथै बाहिरबाट आउने खेलाडीका लागि आवास, भोजन तथा यातायातको व्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु.१ लाख ५० हजार, दोस्रोले रु.१ लाख र तेस्रोले रु. ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै धरानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले धरानको पहिचान प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।