बिर्तामोडमा दुई लागूऔषध कारोबारी प्रहरीको फन्दामा



झापाको बिर्तामोड नगरपालिका–५ स्थित लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सफल अपरेशन गर्दै दुई जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेका रोहित श्रेष्ठ र सुनिल दासलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको साथबाट लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल काटासहित करिब ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय अनारमनी मा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरु लागूऔषध कारोबारमा सक्रिय रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय झापामा लागूऔषधको सञ्जाल फैलिन थालेपछि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। युवापुस्तालाई नशाको दलदलमा धकेल्ने गतिविधिविरुद्ध अब थप कडा एक्सन हुने संकेत प्रहरीले दिएको छ।