धरान : धरानस्थित विजयपुर दरबार क्षेत्रभित्र रहेका ऐतिहासिक समाधि तथा चिहानहरू तोडफोड गरिएको घटनाप्रति किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। संगठनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
आज धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यसमितिले विजयपुर दरबार परिसरभित्र रहेका लिम्बू समुदायसँग सम्बन्धित पुराना समाधि (चिहान) हरू तोडफोड गरिएको घटनाको भर्त्सना गरेको हो। कार्यसमितिका अध्यक्ष तिर्थराज मादेम्बा र सचिव बिप्लक थक्लेनद्वारा जारी विज्ञप्तिअनुसार ऐतिहासिक लिम्बुवानको केन्द्र मानिने विजयपुर दरबार क्षेत्रमा रहेका करिब दुई दर्जन पुराना समाधि तथा चिहानहरू जेठ २ गते क्षतिग्रस्त अवस्थामा फेला परेका थिए।
विज्ञप्तिमा ती समाधिहरू याक्थुङ (लिम्बू) समुदायको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका सम्पदा भएको उल्लेख गरिएको छ। चुम्लुङले घटनालाई असंवेदनशील, अमानवीय तथा असामाजिक गतिविधिको संज्ञा दिँदै दोषीको खोजी गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।
संगठनले भत्काइएका समाधि तथा चिहानहरूको पुनःनिर्माण गरी पुरानै स्वरूपमा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गरेको छ। साथै, विजयपुर दरबार परिसरलाई राष्ट्रिय तथा ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्दै दीर्घकालीन रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्नुपर्ने मागसमेत गरेको छ।
विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदाको संरक्षण, अभिलेखीकरण र व्यवस्थापनका लागि ठोस योजना निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यसैगरी आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणाअनुसार लिम्बू समुदायको सहमति र सहभागिताबिनाका ऐतिहासिक सम्पदासम्बन्धी कुनै पनि परियोजना अघि बढाउन नहुनेमा संगठनको भनाई छ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले विजयपुर दरबार परिसरको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनसँग जोडिएको व्यवस्थित विकास योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।


