अजेन्द्र वाईबा तामाङ
असार १९,पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरको संयुक्त आयोजनामा शुक्रबार फिदिम स्थित जिल्ला समन्वय समितिको सभाहलमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मार्फत ट्राफिक सेवालाई थप सुधार तथा प्रभावकारी प्रभावकारी बानाउने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउन सरोकारवालाहरूले विभिन्न सुझाव दिएका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नायब उपरीक्षक अनिस कुमार कर्ण, सशस्त्र प्रहरी बल नेपाल हिमशिखर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रसाईं तथा राष्ट्रिय अनुसन्धान विभाग पाँचथरका प्रमुख दुर्गा चापागाईं विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
यस्तै फिदिम नगरपालिका वडा नं. १ का अध्यक्ष गजाधार भट्टराई, वडा नं. २ का अध्यक्ष दिनानाथ अधिकारी, वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती, वडा नं. ५ का अध्यक्ष भरत तुम्बापो, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र अधिकारी, यातायात व्यवसायी, सवारी चालक तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन तथा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाहका विषयमा खुला छलफल गरिएको थियो। सहभागीहरूले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए भने ट्राफिक प्रहरीका प्रतिनिधिहरूले उठाइएका विषयमा स्पष्ट धारणा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले नागरिक सुनुवाइले प्रहरी र नागरिकबीचको विश्वास अभिवृद्धि गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सडक सुरक्षाका लागि ट्राफिक नियमको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
अध्यक्षीय मन्तव्यमा प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय, यातायात व्यवसायी, सञ्चारमाध्यम र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै नागरिकबाट प्राप्त सुझावलाई व्यवहारमा उतार्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।
नागरिक सुनुवाइ कार्यक्रमले ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती, समाधानका उपाय तथा सेवा सुधारका विषयमा प्रहरी र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।


