झापा, असार २० — झापाको अर्जुनधारा नगरपालिका–८ स्थित सब्जीलाइन क्षेत्रमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार अपराह्न करिब ३:०० बजे लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट ‘N10’ लेखिएको खोलबिनाको सेतो ट्याब्लेट ३० थान, ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ तथा दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको शंकास्पद पदार्थको तौल गर्दा प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


