प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीद्वारा तमोर करिडोर सडकखण्डको अनुगमन



अजेन्द्र वाईबा तामाङ
भदौ ३, पाँचथर। पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको संयुक्त टोलीले तमोर करिडोर सडकखण्डअन्तर्गत कुम्मायक गाउँपालिका क्षेत्रमा पर्ने विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिशकुमार कर्ण र सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेडक्वार्टर हिमशिखरका सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर रानामगरलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

टोलीले सडकको वर्तमान अवस्था, सडकमा देखिएका खाल्डाखुल्डी, यातायात सञ्चालनको अवस्था तथा स्थानीयस्तरमा देखिएका समस्याबारे स्थलगत जानकारी लिएको थियो।

अनुगमनका क्रममा सडकको अवस्था, सम्भावित जोखिम तथा यातायात आवागमनमा पर्न सक्ने चुनौतीबारे सम्बन्धित पक्षसँग छलफलसमेत गरिएको थियो। टोलीले सडक सञ्चालनलाई सहज बनाउन आवश्यक समन्वय र सहजीकरणका विषयमा समेत जानकारी लिएको जनाएको छ।

पाँचथर हुँदै ताप्लेजुङलगायत पूर्वी पहाडी क्षेत्रलाई जोड्ने तमोर करिडोर सडक यातायात तथा आवागमनका दृष्टिले महत्वपूर्ण सडकका रूपमा रहेको छ। सडकको नियमित अनुगमन तथा सम्बन्धित निकायबीचको समन्वयले यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संयुक्त टोलीले सडकको अवस्था र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक सञ्चालन तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने जनाएको छ।