सडक सेवामा तीन दशक लामो योगदानपछि अधिकारीको सम्मानपूर्ण बिदाइ



अजेन्द्र वाईबा तामाङ

इलाम, सडक निर्माण तथा पूर्वाधार विकासको क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पित सेवा प्रदान गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट बिहीबार सम्मानपूर्वक सेवाबाट बिदा हुनुभएको छ।


वि.सं. २०२५ साल भदौ १ गते खोटाङ जिल्लाको तत्कालीन डुम्रे धारापानी गाउँ पञ्चायतमा जन्मिनुभएका अधिकारीले जीवनका अनेकौं संघर्ष र अनुभवका बीच वि.सं. २०४४ साल पुसदेखि सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयहरूमा अस्थायी दरबन्दीमा ल्याब टेक्निसियन का रूपमा आफ्नो सेवायात्रा प्रारम्भ गर्नुभएको थियो। त्यसपछि वि.सं. २०५३ साल मंसिर २० गते निजामती सेवामा प्रवेश गरी सडक विभागअन्तर्गतका विभिन्न योजना तथा कार्यालयहरूमा रही आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो।
सेवाकालभर अधिकारीले सडक निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, गिटी, ढुङ्गा तथा माटोलगायत निर्माण सामग्रीहरूको प्रयोगशाला परीक्षणदेखि निर्माणस्थलमा गरिने गुणस्तर परीक्षण र अनुगमनसम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो। प्रयोगशालाको प्राविधिक कार्यदेखि निर्माणस्थलको धुलो, हिलो, घामपानी तथा चुनौतीपूर्ण भौगोलिक परिस्थितिमा समेत उहाँले सडक निर्माणको गुणस्तर सुनिश्चित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको सहकर्मीहरू बताउँछन्।
सडक निर्माण कार्यमा प्राविधिक मापदण्डको पालना, निर्माण सामग्रीको परीक्षण तथा गुणस्तर व्यवस्थापनमा उहाँले पुर्‍याउनुभएको योगदानले सडक पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुगेको छ। लामो सेवायात्राका क्रममा उहाँले आर्जन गर्नुभएको अनुभव, दक्षता, इमानदारिता र जिम्मेवारीबोधले सहकर्मी तथा सेवाग्राहीमाझ सकारात्मक छाप छोड्न सफल भएको छ।
सडक डिभिजन कार्यालय इलाममा कार्यरत रहँदै सेवाबाट अवकाश प्राप्त गर्नुभएका अधिकारीलाई कार्यालय प्रमुख पवन भट्टराई तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रममा अधिकारीले सडक सेवामा बिताएका लामो समयका अनुभवहरू स्मरण गर्दै सहकर्मीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
बिदाइ समारोहमा कार्यालय प्रमुख भट्टराईसहित कर्मचारीहरूले अधिकारीको समर्पित, जिम्मेवार र अनुकरणीय सेवाको उच्च प्रशंसा गर्दै उहाँको आगामी जीवन सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरे।