धरान । ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा रहेको किरात राई समुदायको मुन्धुमी सामग्री वाबु ‘चिन्डो’ माथि भएको आक्रमणपछि त्यसलाई तत्काल पुनःस्थापना गर्न माग गर्दै किरात राई यायोक्खा केन्द्रीय समितिले धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

शनिबार कार्यबाहक नगरप्रमुख संग छलफलको विशेष समय मिलाई यायोक्खाले वाबु ‘चिन्डो’माथि भएको आक्रमणलाई सांस्कृतिक तथा धार्मिक आस्थामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिँदै दोषीमाथि कानुनी कारबाहीसँगै ऐतिहासिक विजयपुर क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षण र सुरक्षाका लागि तत्काल पहल गर्न समेत माग गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित तत्कालीन विजयपुर किरात दरबार (गढी) क्षेत्रमा रहेको वाबु ‘चिन्डो’ माथि गत श्रावण ११ गते राती भएको आक्रमणको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यायोक्खाले सांस्कृतिक सम्पदामाथिको यस्तो गतिविधिले किरात समुदायको धार्मिक तथा सांस्कृतिक आस्थामा चोट पुर्याउनुका साथै सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्न सक्ने जनाएको छ।
ज्ञापनपत्रमा विजयपुर क्षेत्र नेपालको किरात इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको महत्वपूर्ण ऐतिहासिक स्थल भएको उल्लेख गरिएको छ। नेपालको लिखित तथा अलिखित इतिहास र विभिन्न ऐतिहासिक प्रमाणका आधारमा विजयपुरका अन्तिम राजा बुद्धिकर्ण राय (राई) रहेको यायोक्खाको दाबी छ। विभिन्न पुस्तक, भिडियो, अडियो तथा इतिहासकार र विद्वान लेखकका प्रकाशित सामग्रीमा समेत बुद्धिकर्ण रायको शासन र विजयपुरको ऐतिहासिक महत्वबारे उल्लेख रहेको यायोक्खाले जनाएको छ।
यायोक्खाले गोर्खाली शासकहरूसँगको संघर्षका क्रममा बुद्धिकर्ण रायको हत्या भएको ऐतिहासिक विवरणसमेत रहेको उल्लेख गरेको छ। विजयपुर राज्यको इतिहास, किरात सभ्यता र त्यससँग जोडिएका सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने यायोक्खाको भनाइ छ।
ज्ञापनपत्रमा विजयपुर दरबार क्षेत्र संरक्षणका लागि विगतमा भएका विभिन्न आन्दोलन र सहमतिहरूको समेत स्मरण गरिएको छ। वि.सं. २०७४ सालमा विजयपुर दरबार क्षेत्रमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत धरान खानेपानी आयोजनाको ट्याङ्की निर्माण गर्न लाग्दा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजलगायत आदिवासी जनजाति संघ–संस्थाले विजयपुर दरबार संरक्षणका लागि संयुक्त रूपमा आन्दोलन गरेको यायोक्खाले जनाएको छ।
त्यसपछि तत्कालीन धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारीसहित चार किरात तथा आदिवासी जनजाति संघ–संस्थाका जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा २०७४ माघ २ गते १८ बुँदे सहमति भएको उल्लेख गरिएको छ। उक्त सहमतिमा विजयपुर क्षेत्रको संरक्षण, विकास तथा सांस्कृतिक महत्व कायम राख्ने विषय समेटिएको थियो।
सहमति कार्यान्वयन गर्दै ऐतिहासिक विजयपुर दरबार क्षेत्रलाई चार किरातको साझा सांस्कृतिक स्थलका रूपमा विकास गर्ने, आवश्यक बजेटको व्यवस्था गर्ने तथा मुख्य प्रवेशद्वारमा राई, लिम्बू, याक्खा र सुनुवारका सांस्कृतिक प्रतीक स्थापना गर्ने विषयमा समेत सहमति भएको यायोक्खाले स्मरण गराएको छ।
यायोक्खाले विजयपुर दरबार क्षेत्रका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा सम्बन्धित समुदायले परम्पराअनुसार पूजा तथा सांस्कृतिक गतिविधि गर्दै आएको जनाएको छ। वाबु चिन्डो पनि किरात राई समुदायको मुन्धुमी तथा सांस्कृतिक आस्थासँग जोडिएको महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण र पुनःस्थापना आवश्यक रहेको यायोक्खाको भनाइ छ।
पछिल्लो घटनापछि सामाजिक सञ्जालमार्फत समुदायबीच भ्रम, द्वन्द्व र घृणा फैलाउने खालका गतिविधि भइरहेको भन्दै यायोक्खाले त्यसप्रति समेत सचेत गराएको छ। सामाजिक सञ्जालको दुरुपयोगले साम्प्रदायिक सद्भाव बिगार्न सक्ने भएकाले यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
यायोक्खाले ज्ञापनपत्रमार्फत विजयपुर दरबार क्षेत्रमा रहेको किरात राई समुदायको मुन्धुमी सामग्री वाबु चिन्डो तत्काल पुनःस्थापना गरी संरक्षण गर्नुपर्ने, स्थानीय प्रशासन तथा इलाका प्रहरी कार्यालयको उपस्थितिमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने, वाबु चिन्डोमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान गरी अनुसन्धान तथा कानुनी कारबाही गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, किरात विजयपुर दरबारको ऐतिहासिक एवं पुरातात्त्विक अध्ययनका लागि तत्काल पहल गर्न, साम्प्रदायिक हिंसा फैलाउने तथा समुदायविरुद्ध नकारात्मक भावना सिर्जना गर्ने गतिविधि रोक्न र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नसमेत यायोक्खाले माग गरेको छ।
यायोक्खाले विजयपुरलाई कुनै एक समुदायको मात्र नभई नेपालको इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै स्थानीय तह, प्रशासन, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सबै समुदायलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा जिम्मेवार बन्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष जीवन हाताछो राई र महासचिव भीमराम राईको हस्ताक्षर रहेको छ।




