असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भए पाँचथरका पूर्णप्रसाद गौतम



अजेन्द्र वाईबा तामाङ

श्रावण ५, फिदिम । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) पूर्णप्रसाद गौतम २०८३ साल असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।


नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मासिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा गौतमलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट गरेको हो। उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी उपरीक्षक दीपक गिरीले उनलाई सम्मान प्रदान गरेका छन्।


प्र.ना.नि. गौतमले पाँचथर जिल्लामा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, उल्लेखनीय राजस्व संकलन, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी पहल तथा विद्यालय, समुदाय र सार्वजनिक स्थलमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गरिएको कार्यालयले जनाएको छ।


त्यसैगरी, उनको नेतृत्वमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमप्रति सचेत गराउने, सुरक्षित सडक संस्कृतिको विकास गर्ने तथा सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरिएको छ।


नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। यसबाट संगठनभित्र प्रतिस्पर्धात्मक कार्यसंस्कृतिको विकास हुनुका साथै नागरिकलाई थप प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरीको सम्मान प्राप्त गरेका गौतमले आगामी दिनमा पनि सुरक्षित सडक, अनुशासित सवारी सञ्चालन तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमार्फत नागरिकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।