अजेन्द्र वाईबा तामाङ
साउन ८, झापा । झापाको शिवसताक्षी नगरपालिका–दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्माको मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा शुक्रबार निधन भएको छ।
प्राप्त जानकारी अनुसार केराबारी–धरान सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका शेर्माको उपचारका क्रममा निधन भएको हो। पाँचथरको तुम्बेवा गाउँपालिका–१, सावित आङ्ना–९ (शेर्मा टोल) निवासी ४९ वर्षीया शेर्मा शिक्षा क्षेत्रमा समर्पित, इमानदार र अनुशासित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
स्वर्गीय शेर्माले लामो समयदेखि शिक्षण पेसामार्फत हजारौँ विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन कायम, शिक्षक–विद्यार्थीबीच सकारात्मक वातावरण निर्माण तथा समुदायसँगको सहकार्यमा उहाँको नेतृत्वलाई विद्यालय परिवारले उच्च मूल्याङ्कन गर्दै आएको थियो।
उहाँको असामयिक निधनले विद्यालय परिवार, विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा समग्र शिक्षा क्षेत्रमा गहिरो शोक छाएको छ। सामाजिक सञ्जालमार्फत सहकर्मी, पूर्वविद्यार्थी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गरेका छन्।
स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। उहाँको निधनसँगै नेपाली शिक्षा क्षेत्रले एक समर्पित शिक्षक, कुशल शैक्षिक नेतृत्वकर्ता तथा प्रेरणादायी व्यक्तित्व गुमाएको स्थानीयवासीले बताएका छन्।


