आदिवासी अधिकार सुदृढीकरणका लागि फिदिममा दुईदिने गोष्ठी सुरु



अजेन्द्र वाईबा तामाङ
फिदिम, साउन ११ । आदिवासी जनजाति समुदायका संवैधानिक तथा कानुनी अधिकारबारे सचेतना अभिवृद्धि गर्दै समुदायको क्षमता विकास गर्ने उद्देश्यले पाँचथरको फिदिममा ‘आदिवासी अधिकार सम्बन्धी सहजीकरण तथा अन्तरक्रियात्मक गोष्ठी’ सोमबारदेखि सुरु भएको छ।


नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा सञ्चालन भइरहेको दुईदिने गोष्ठी किरात राई यायोक्खा जिल्ला कार्यसमिति पाँचथरको आयोजनामा तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरको संयोजनमा आयोजना गरिएको हो। गोष्ठी साउन ११ र १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


गोष्ठीको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा फोनिज कोशी प्रदेशका अध्यक्ष विजय बोध लावती, आईपीएचआरडीका अभियन्ता प्रेम घिसिङ, अधिवक्ता भिम राई, किरात राई यायोक्खा जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष गणेश साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव शान्ति राईले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न आदिवासी जनजाति समुदायका करिब ३० जना प्रतिनिधिको सहभागिता रहेको छ। गोष्ठीको पहिलो दिन नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार, लाहुर्निप (LAHURNIP) को भूमिका तथा आदिवासी अधिकार संरक्षणका विषयमा प्रशिक्षण प्रदान गरिएको छ।


दोस्रो दिन सर्वोच्च अदालतका महत्त्वपूर्ण आदेश, स्थानीय तहमा आदिवासीमैत्री कानुन निर्माण, व्यापार र मानवअधिकार, स्वतन्त्र, पूर्व तथा सूचित सहमति (FPIC), साथै आदिवासी समुदायका वर्तमान समस्या, चुनौती र आगामी रणनीतिबारे अधिवक्ता भिम राई र आईपीएचआरडीका अभियन्ता प्रेम घिसिङले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार गोष्ठीले सहभागीलाई आफ्नो संवैधानिक तथा कानुनी अधिकारबारे स्पष्ट बुझाइ दिलाउनुका साथै स्थानीय तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, भाषा, संस्कृति, पहिचान, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसाधनमाथिको अधिकार संरक्षणका लागि प्रभावकारी पैरवी गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।


आदिवासी जनजातिका साझा सवालमा अनुभव आदानप्रदान, कानुनी ज्ञान विस्तार तथा अधिकारमुखी नेतृत्व विकासमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ। गोष्ठी साउन १२ गते समापन हुने जनाइएको छ।