धरान, साउन १२।
धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा स्थापित किरात समुदायको धार्मिक तथा सांस्कृतिक प्रतीक ‘वाबु (चिण्डो)’ गत १० गते राती अज्ञात समूहले ढालेर क्षति पुर्याएको घटनाप्रति किरात राई यायोक्खा केन्द्रीय समितिले कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
यायोक्खाले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने नियोजित गतिविधिका रूपमा व्याख्या गर्दै घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी पक्राउ गर्न तथा कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।
यायोक्खाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको धार्मिक तथा सांस्कृतिक अस्तित्वको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। यस्ता घटनाले सामाजिक सद्भावमा गम्भीर असर पार्ने भएकाले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।
विज्ञप्तिअनुसार विजयपुर दरबार क्षेत्रमा किरात समुदायले २०५१ सालदेखि साकेला उभौली–उधौलीलगायत सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्दै आएको छ। स्थानीय सरकार र चार किरात संस्थाको सहमतिमा त्यहाँ सांस्कृतिक संरचना निर्माण गरिएको तथा उक्त क्षेत्रलाई साझा सांस्कृतिक स्थलका रूपमा संरक्षण गर्ने समझदारीसमेत भएको यायोक्खाले स्मरण गराएको छ।
यायोक्खाले धार्मिक तथा सांस्कृतिक सम्पदिमाथि हुने तोडफोड तथा साम्प्रदायिक द्वेष फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै दोषीलाई संरक्षण नगर्न, निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरेको छ।
साथै, घटनालाई सरकारले गम्भीर रूपमा नलिए र दोषीमाथि आवश्यक कारबाही नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत यायोक्खाले दिएको छ।




