**अजेन्द्र वाईबा तामाङ **
साउन १७, फिदिम। पाँचथरको फिदिम नगरपालिका–४, थाक्लेस्थित डम्पिङ साईडकाे क्वारेन्टाइनमा राखिएको बिरामी कुकुरलाई आइतबार क्वारेन्टाइनबाट उम्किएर स्थानीयको भैंसी टोकेपछि पुनः नियन्त्रणमा लिइएको छ ।
फिदिम नगरपालिका–४, थाक्लेका केशव खनालको गोठमा रहेको भैंसीलाई कुकुरले टोकेपछि स्थानीयवासीले तत्काल सक्रियता देखाउँदै कुकुरलाई नियन्त्रणमा लिएर चर्पीभित्र थुनेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ फिदिम नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक नारायणकुमार थापा र नगर प्रहरी वल प्रमुख सुजन परी लगायतका नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो। टोलीले कुकुरलाई नियन्त्रणमा लिएर फिदिम नगरपालिका–१, शनिबारेस्थित क्वारेन्टाइनमा पुनः राखेको छ। बिरामी कुकुरलाई के राेग लागेको हाे पुष्टि नभएको कुकुर क्वारेन्टाइनबाट उम्किएर पशुमा आक्रमण गरेपछि नगरपालिकाले बजार, सार्वजनिक स्थान तथा बाटो आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। शंकास्पद वा अस्वाभाविक व्यवहार गर्ने कुकुर देखिएमा त्यसको नजिक नजान, आफैं नियन्त्रण गर्ने प्रयास नगर्न र तत्काल नगरपालिकालाई ९८४२७३३७६१, ९८१४०९९०६२ मा सम्पर्क गरि जानकारी गराउन अनुरोध गरिएको छ ।
नगरपालिकाका अनुसार टोकेको भैंसीलाई आवश्यक निगरानीमा राखिएको छ भने घटनाबारे थप प्राविधिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। नगरपालिकाले पशुमा असामान्य लक्षण देखिए वा कुनै व्यक्ति वा पशुलाई टोकाइको घटना भएमा तत्काल स्वास्थ्य तथा पशु सेवा निकायको सम्पर्कमा आउन पनि आग्रह गरेको छ।


