नेकपा शिवसताक्षीको एकता भेला सम्पन्न, संयोजकमा नेम्बाङ चयन



जनता बजार (शिवसताक्षी), १७ साउन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) शिवसताक्षी नगर कमिटीको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको शिवसताक्षी–५, जनता बजारस्थित कनकाई नहरको सभाहलमा सम्पन्न भएको छ।

गत श्रावण १६ गते शनिबार नेकपा शिवसताक्षी नगरकमिटी द्वारा आयोजित कार्यक्रमले दुर्गा नेम्वाङको संयोजकत्वमा १०१ सदस्यीय शिवसताक्षी नगर कमिटी घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण गराएको छ। साथै नगरका ११ वटै वडाका वडा कमिटी संयोजक र वडा इन्चार्जसमेत तोकिएको जनाइएको छ।
नेकपा शिवसताक्षी नगर कमिटीका अध्यक्ष दुर्गा नेम्वाङका अनुसार पार्टी संगठनलाई वडा तहसम्म सुदृढ बनाउने उद्देश्यले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय नेता तथा कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै समाज रूपान्तरणको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

त्यस्तै कार्यक्रममा अन्य केन्द्र, प्रदेश र जिल्लाका नेताहरु, पार्टीको नेता–कार्यकर्ता, नगर तथा वडा कमिटीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।