बिर्तामोड, साउन २१ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम बिहीबार बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमबाट जेबी जबेगुको संयोजकत्वमा ७५ सदस्यीय नगर समिति गठन गरिएको छ।

पार्टीका प्रदेश संयोजक हर्क नेम्बाङ ‘मिक्सो’ को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। नवगठित नगर समितिलाई पार्टीका केन्द्रीय सदस्य गगन पुरी ले शपथ ग्रहण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हर्कबहादुर नेम्बाङ ले पार्टी नेता–कार्यकर्तालाई कुनै पनि परिस्थितिमा विचलित नभई संगठन सुदृढीकरण र जनतामाझ पार्टीको विचार तथा कार्यक्रम स्थापित गर्न सक्रियतापूर्वक लाग्न आग्रह गरे। उनले वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार तथा वर्तमान प्रधानमन्त्रीबाट जनताले अपेक्षा गरेको परिवर्तन सम्भव नहुने दाबी गरे। उनले समाजवादी क्रान्तिको नयाँ तयारीसहित जनआधारित राजनीतिक अभियानलाई थप सशक्त बनाउन नेता–कार्यकर्तालाई आह्वान समेत गरे।
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, पार्टी केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी तथा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सहायक इन्चार्ज बासु दुलाल ले शुभकामना मन्तव्य व्यक्त गर्दै नवगठित नगर समितिले संगठन विस्तार, जनपरिचालन र पार्टीको वैचारिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।
नगर संयोजक जेबी जबेगुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर कमिटीका सह–संयोजक जगन्नाथ भट्टराई ले गरेका थिए भने सुशीला पाण्डे ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममार्फत गठन गरिएको नयाँ नगर समितिले संगठन विस्तार, वैचारिक सुदृढीकरण, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको पार्टीले जनाएको छ।


