श्रावण २४, अर्जुनधारा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय संयोजन समिति सदस्य लीलामणि पोखरेलले बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै पार्टीका नेता तथा कार्यकर्ताले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित नेकपा अर्जुनधाराको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले पार्टी एकता केवल संगठनको संरचना निर्माणमा मात्र सीमित नरही विचार, नीति र व्यवहारमा समेत लागू हुनुपर्ने बताए । उनले पार्टी संगठनलाई स्थानीय तहसम्म बलियो र चलायमान बनाउँदै जनताका समस्या तथा भावनासँग जोडिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पोखरेलले जनताका समस्या, आवश्यकता र भावनालाई केन्द्रमा राखेर काम गर्न सकेमात्र पार्टीले गति लिन सक्ने बताए । संगठन बलियो बनाउन नेता तथा कार्यकर्ताबीचको एकतासँगै जनतासँगको सम्बन्धलाई पनि थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले राजनीतिक परिस्थितिमा आएको परिवर्तनअनुसार पार्टीको कार्यशैलीमा समेत आवश्यक सुधार गर्नुपर्ने धारणा राखे । जनताको विश्वास जित्ने गरी व्यवहार र काममार्फत पार्टीप्रति सकारात्मक धारणा निर्माण गर्न नेता तथा कार्यकर्ता प्रतिबद्ध हुनुपर्ने पोखरेलले बताए ।
यसैबीच पार्टी नगर संयोजक नरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट नारद दुःखीको संयोजकत्वमा ५१ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिको घोषणा पार्टी इन्चार्ज देवकुमारी प्रसाईले गरेकी थिइन् । कार्यक्रममा केन्द्रीय सदस्यद्वय चन्द्रा श्रेष्ठ र अशेष घिमिरे, जिल्ला संयोजक पवन तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीको सर्कुलर नेता कुमार आचार्यले बाचन गरेका थिए ।
नगर सहसंयोजक कृष्ण लुहारले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सहसंयोजक नारायण पौडेलले गरेका थिए ।


