मोटरसाइकलको ठक्करबाट झापामा ५० वर्षीया महिलाको मृत्यु



झापा । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक ५० वर्षीया महिलाको मृत्यु भएको छ।


आइतबार दिउँसो करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी अर्जुनधारा नगरपालिका–९ निवासी मिरादेवी गौतमलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा साँझ ४ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेल समेत सामान्य घाइते भएका छन्। अनुहारमा चोट लागेका रम्तेलको सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको थियो।
उपचारपछि रम्तेललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।