अजेन्द्र वाईबा तामाङ
तेह्रथुम । इलाका प्रहरी कार्यालय बसन्तपुरका इन्चार्ज प्रहरी निरीक्षक रुपेश तामाङ आर्थिक वर्ष २०८२/०८३ का लागि तेह्रथुम जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, प्रभावकारी प्रहरी परिचालन, समुदाय–प्रहरी साझेदारी, शान्ति–सुरक्षा व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा तामाङले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण ओलीले प्रहरी निरीक्षक तामाङलाई कदरपत्र प्रदान गरे।
कार्यक्रममा डीएसपी ओलीले तामाङले उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता, इमान्दारिता, अनुशासन तथा कर्तव्यनिष्ठामार्फत प्रहरी संगठनको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
इलाका प्रहरी कार्यालय बसन्तपुरको पहिलो इन्चार्जका रूपमा कार्यरत प्रहरी निरीक्षक तामाङले यसअघि जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।


