अजेन्द्र वाइबा तामाङ
पाँचथर, साउन ३० । मनु दुलाल स्मृति अक्षयकोषमा रहेको रु. २ लाखको बैंक ब्याजबाट शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग र छात्रवृत्ति वितरण गरिएको छ।

साउन २९ गते आयोजित कार्यक्रममा फालेलुङ गाउँपालिका–३ की अपाङ्गता भएकी साक्षी राईलाई रु. ६ हजार, स्वर्गीय मनु दुलालले अध्ययन गरेको सिद्धेश्वर माध्यमिक विद्यालयकी छात्रा रेस्मि नेम्वाङलाई रु. ६ हजार तथा फिदिम नगरपालिका–२ की अभिभावकविहीन सपना सार्कीलाई रु. ५ हजार प्रदान गरिएको हो। तीनै जनालाई गरी रु. १७ हजार वितरण गरिएको जनसेवा समाज पाँचथरले जनाएको छ।
फिदिम नगरपालिका–१३ का वडा अध्यक्ष दिलकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिदिम नगरपालिका–४ का वडा अध्यक्ष उपेन्द्र लावती, उद्योग वाणिज्य संघ पाँचथरका महासचिव चन्द्रप्रसाद काफ्ले, फिदिम माध्यमिक विद्यालयका शिक्षक भीष्म गौतम, समाजसेवी दिपेन्द्र तुम्बापो, गोपाल तिम्सिना, राधा अधिकारी, निता दुलाल, बिमला बास्कोटालगायतको उपस्थिति थियो। जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीसहित संयुक्त जनसेवा समाजका प्रतिनिधिहरू पनि सहभागी थिए।
कार्यक्रममा अक्षयकोषका प्रमुख संरक्षक नरेशप्रसाद (नन्दकिशोर) प्रसाईंले सामाजिक तथा मानवीय सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको थियो। सहभागीहरूले स्वर्गीय मनु दुलालको आत्माको चिरशान्तिको कामनासमेत गरेका थिए।
यसैबीच, प्रसाईंले थप रु. १ लाखको फिक्स्ड डिपोजिट खाता स्थापना गर्ने घोषणा गरेका छन्। उक्त रकमबाट प्राप्त हुने वार्षिक ब्याजले फिदिम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट अंकसहित प्रथम हुने छात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
अक्षयकोषको ब्याजबाट प्राप्त रकमलाई शिक्षा, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकविहीन बालबालिकाको सहयोगमा परिचालन गर्दै स्वर्गीय मनु दुलालको सामाजिक सेवाको स्मृतिलाई निरन्तरता दिइने जनाइएको छ।


