किरात राई पत्रकार संघ पाँचथरको अध्यक्षमा सुवाश राई पुनः निर्वाचित



अजेन्द्र वाईबा तामाङ
भदौ २८, आइतबार, फिदिम

फिदिम । किरात राई पत्रकार संघ पाँचथरको अध्यक्षमा सुवाश राई पुनः निर्वाचित भएका छन्। फिदिमस्थित नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आइतबार सम्पन्न संघको अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा पुरण सुकिता राई, सचिवमा मन्जना राई, सह-सचिवमा विराज राई र कोषाध्यक्षमा शिल्पा राई निर्वाचित भएका छन्। सदस्यमा रमेश शिप्तुङ्खा राई निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन किरात राई पत्रकार संघका केन्द्रीय सचिव राजकुमार इशारा राईले गरेका थिए। कार्यक्रममा किरात राई यायोक्खा पाँचथरका अध्यक्ष गणेश साम्पाङ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै, विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश समितिका अध्यक्ष विजयबोध लाओती, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष दीपक बोहोरा र लिम्बू पत्रकार संघ पाँचथरका अध्यक्ष रजनी हाङसरुम्बाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले आदिवासी जनजाति समुदायका सवाललाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले समुदायको भाषा, संस्कृति, इतिहास, पहिचान तथा अधिकारका विषयलाई तथ्यपरक, जिम्मेवार र सन्तुलित पत्रकारितामार्फत उजागर गर्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष सुवाश राईसहितको नयाँ कार्यसमितिले आगामी दिनमा किरात राई समुदायसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएको छ। साथै, पत्रकारहरूको व्यावसायिक क्षमता विकास र संघका संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।