इलाम । जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत राजदुवाली सडकखण्ड असोज ३ र ४ गते दुई दिन पूर्ण रूपमा बन्द हुने जनाएको छ।
कार्यालयले भदौ २९ गते जरुरी सूचना जारी गर्दै पहिरो नियन्त्रणअन्तर्गत इनार (Drainage Well) तथा कल्भर्ट निर्माणका क्रममा मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको जनाएको हो।
सडक डिभिजन कार्यालय इलामको अनुरोध तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राजदुवाली खण्ड बन्द गरिने प्रशासनले जनाएको छ। बन्द अवधिमा ठूला सार्वजनिक सवारीसाधनले मेची कोरिडोर र साना सवारीसाधनले सिमलकोला–तिल्केनी सडक प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालयले निर्माण कार्यका क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणसँगै कामलाई सहज बनाउन सम्बन्धित सबैलाई वैकल्पिक सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरेको छ।


