१५औँ महाधिवेशन तयारी समिति पाँचथरको संयोजकमा डेकेन्द्र कुमार तामाङ



अजेन्द्र वाईबा तामाङ
भदौ ३०, मंगलबार, पाँचथर । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन गठित १५औँ महाधिवेशन तयारी समिति, पाँचथरको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले तामाङलाई पाँचथर जिल्ला संयोजकको जिम्मेवारी प्रदान गर्दै मनोनयन गरेका हुन्।
महाधिवेशनलाई सफल, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न जिल्ला तहमा आवश्यक तयारी, संगठनात्मक समन्वय तथा पार्टीका नेता–कार्यकर्ताबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले तामाङलाई जिम्मेवारी दिइएको जनाइएको छ।

पाँचथरमा नेपाली कांग्रेसको संगठनलाई थप सक्रिय बनाउँदै महाधिवेशन केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन तामाङको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
जिम्मेवारी पाएसँगै संयोजक तामाङले जिल्लाका पार्टी नेता–कार्यकर्ता तथा विभिन्न तहका संगठनसँग आवश्यक समन्वय गर्दै १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने बताइएको छ।

तामाङको मनोनयनसँगै पाँचथरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन केन्द्रित गतिविधिले थप गति लिने विश्वास गरिएको छ।