अजेन्द्र वाईबा तामाङ
असोज २, शुक्रबार, फिदिम। संविधान दिवस, २०८३ को अवसरमा जिल्ला मूल समारोह समिति, पाँचथरको आयोजनामा सुरु भएको तीनदिने कार्यक्रमअन्तर्गत पहिलो दिन जिल्ला अस्पताल पाँचथर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्ले, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्ण, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर पाँचथरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर मगर, जिल्ला अस्पताल पाँचथरका डा. बुद्धिबहादुर थापालगायत स्थानीय बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले जिल्ला अस्पताल परिसरको सरसफाइ गरेका थिए। सार्वजनिक स्थलको स्वच्छता कायम राख्नुका साथै सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
संविधान दिवसको मुख्य दिन असोज ३ गते बिहान ७ः३० बजे शनिबारेबाट प्रभातफेरि आयोजना गरिने भएको छ। प्रभातफेरिमा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।
यस्तै, असोज ३ गते साँझ ६ बजे फिदिम बजारस्थित गणतन्त्र चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ।
तीनदिने कार्यक्रमको अन्तिम दिन असोज ४ गते जिल्ला अस्पताल परिसरमा पुनः सरसफाइ गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
संविधान दिवसको अवसरमा आयोजना गरिएका विविध कार्यक्रमले सार्वजनिक स्थलको सरसफाइ, सामाजिक सहभागिता तथा संविधान र राष्ट्रिय दिवसप्रति नागरिकमा जनचेतना अभिवृद्धि गर्न योगदान पुग्ने आयोजकको अपेक्षा छ।


