किरात राई यायोक्खा प्रदेश १ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा राम मान्डुपा राई



इटहरी । किरात राई यायोक्खा प्रदेश कार्यसमिति प्रदेश नं. १ को प्रथम अधिवेशन सुनसरीको इटहरीमा सम्पन्न भएको छ। अधिवेशनले राम मान्डुपा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ।

शनिबार इटहरीस्थित होटल त्रियुगाको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्जय सन्तोषी राई, सचीवमा टिकाराम राई, प्रमोद जङ राई र सन्तोष राई, सह–सचिवमा, युवराज राई, कोषाध्यक्षमा भिमा राई र सह–कोषाध्यक्षमा आनन्द निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार राई, अनुष्का राई, तीर्थ छाङखिम राई, डिल्लिशेर राई, जीवनकुमार राई र लालबहादुर राई चयन भएका छन्।

नवनिर्वाचित प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। केन्द्रीय अध्यक्ष हताचोको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाका जिल्ला समितिबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम मान्डुपा राईले आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा किरात राई समुदायको भाषा, संस्कृति, इतिहास, सभ्यता तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिने बताए। उनले प्रदेशस्तरमा संस्थागत गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै किरात राई यायोक्खाको उद्देश्य, नीति तथा निर्णयअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।