धर्मशालासँगको सम्झौता रद्द अब चलनचल्तीको मूल्यअनुसार लिजमा



काठमाडौं ,

पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ । २० वर्षपछि पुरानो लिज सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालिएको हो। सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द गरेको छ।

कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले सम्झौता रद्द गर्दै १५ दिनभित्र नयाँ सम्झौताका लागि मारवाडी सेवा समितिलाई समय दिने निर्णय गरेको छ । अब चलनचल्तीको मूल्यअनुसार सो जग्गा लिजमा दिने कोषले जनाएको छ ।

बहुमूल्य सम्पत्ति कौडीको भाउमा लिजमा दिइएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको थियो।
पटक–पटक सो लिज अन्त्य गर्ने प्रयास भए पनि सफल भएको थिएन । धर्मशालामा १९ सटर धर्मशालाभित्र दुई सय ७० कोठा छन् ।